काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समितिकाे बैठक प्रत्यक्ष प्रसारण ‘लाइभ’ गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको हो ।
सचिव दिनानाथ शर्माका अनुसार माओवादी केन्द्रीय कमिटी बैठक अनलाइनमार्फत लाइभ हुनेछ । यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि लाइभ गरिएको थियो ।
यसअघि माओवादी केन्द्रीय समिति बैठकमा समूहगत छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई बोल्न समय दिइने सचिव शर्माले बताए । उनले भने, ‘पार्टीलाई लोकतान्त्रिक पद्धतिबाट चलाइनुपर्छ भन्ने सबैको माग हो । पहिले समूहमा छलफल हुने गरे पनि यसपटक भने सबै केन्द्रीय सदस्यलाई छोटो समय उपलब्ध गराइनेछ ।’
त्यस्तै आगामी मंसिरसम्म पार्टीले विधान सम्मेलन गर्ने पनि पदाधिकारी बैठकले तय गरेको छ । केन्द्रीय समितिको बैठकमा एजेन्डा पेस गर्दै यसबारे थप निर्णय हुने शर्माले बताए । त्यस्तै पार्टीको विधानअनुसार केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३५ प्रतिशत पुग्ने पनि उनले बताए ।




















प्रतिक्रिया