Logo

अर्थ

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल चयन



काठमाडौँ । घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल चयन भएको छ । यस संगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु हिमालयन क्यापिटलले गर्नेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड भईसकेको छ। उक्त शेयर नेप्सेमा सुचिकृत भएसंगै लगानीकर्ताले कम्पनीको शेयर खरिद बिक्री गर्न सक्ने छन् ।कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।

आईपीओमा १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार १२:२२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।