Logo

राजनीति

जनतामा उत्पन्न आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रुपान्तरणमा गर्नुपर्ने बताए ।

“अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ”,उनले भने ।

केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकतानुसार अगाडि बढ्न सहज वातावरण बनाउने उनको विश्वास छ । “राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढीकरण गर्न केन्द्रीय समितिले छलफल र निष्कर्ष निकाल्ने छ”, उनले भने ।

अध्यक्ष दाहालले देशको राजनीतिमा देखापरेका विभिन्न विचार र प्रवृत्तिका बारेमा र पार्टीभित्रकै विगतका स्थितिका सिंहावलोकन र समीक्षा गर्दै आउने दिनमा नतिजामुखी काममा केन्द्रित हुन आवश्यक रहेको बताए । “यस बैठकले जनतामा उत्पन्न भएको आशा र भरोसाका स्थितिलाई सङ्गठनमा रुपान्तरण गर्ने, जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने अभियानमा बदल्नुछ । केन्द्रीय समितिको काँधमा त्यही मुलभूत जिम्मेवारी रहेको छ”, उनले भने ।

उनले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरुपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिए ।

सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:४८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।