काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तीव्र्र आलोचना भएको छ । आलोचकको निशानामा उपप्रधानमन्त्री तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि परेका छन् ।
बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोराछोरी राखेको विषय उठाउँदै आलोचना गरेका हुन् । प्रवास कमिटीका सहइन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न गरेका छन् । उनले बैठकमा भने, ‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’ अहिले प्रचणपुत्री गंगा दाहाल प्रचण्डकी प्रमुख स्वकीय सचिव छिन् ।
यस्तै केन्द्रीय सदस्य कृष्ण केसीले माओवादीमा जीवन पारदर्शी नभएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री प्रचण्डले २०४६ सालदेखिका भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने सुझाव दिए । उनले भने, ‘माओवादीबाट सत्तामा गएकाहरूको सम्पत्ति छानबिन गरौ । बेपत्ता छानबिन र सत्य निरुपण आयोग तुरुन्त निमार्ण गर्नुपर्छ । समाजवादका नमूना गाउँहरू बनाउनतर्फ जानुपर्छ ।’
केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीले सञ्चालन गरेको अभियानको समीक्षा नभएको भन्दै असन्तुष्टि पोखे । उनले भने, ‘दुईमहिने अभियानको समीक्षा भएन । पार्टी बनाउने भनेर अभियान सञ्चालन भयो । तर त्यसको समीक्षा भएन । अब असफल अभियान सँचालन नगरौं ।’
लोकेन्द्र लम्सालले पार्टी एकतामा आएकाहरूको जिम्मेवारीमा पार्टीले ध्यान दिनुपर्ने बताए । उनले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने भन्दै पार्टीमा आत्मालोचना र आलोचनालाई आलुचना बनाएर खाएको टिप्पणी गरे ।
केन्द्रीय सदस्य कृष्ण चौधरी भने अध्यक्ष प्रचण्डको बचाउमा उभिए । उनले भने, ‘पार्टी अध्यक्षको गल्ति देख्ने तर आफ्नो कुनै गल्ति नदेख्दा पार्टी बिग्रियो । सबैले आफैँतर्फ फर्केर हुर्नुपर्छ । अझ भन्ने हो भने आफ्नो टाउकोमा आफैँ आगो लगाउनुपर्ने समय आएको छ । पार्टी बनाउने हो भने एकले अर्कोलाई दोष लगाउने होइन । फिल्डमा खटौँ ।’
केन्द्रीय सदस्य सचिन रोकाले अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गरे । उनले भने, ‘प्रतिवेदन युगपरिवर्तन गर्ने खालको आएको छ । सरकारको कामले जनताका आसको संचार भएको छ । तर नेताहरू प्रचार प्रसार गर्दैनन् । दुई अंकको केन्द्रीय कमिटी बनाउनुपर्छ । नेता कार्यकर्ताहरूबीच अब चुनाव मात्र एक विकल्प हो । यसले पार्टीमा काम गर्ने र नगर्नेबीच छुट्याउन सहज हुन्छ ।’
अमर तमुले पनि प्रतिवेदन राम्रो आएको बताए । उनले भने, ‘डकुमेन्ट राम्रो आएको छ । डकुमेन्टले समाजवादको चित्र कोर्न सफल भएको छ । हर्क साम्पाङको मोडेलमा माओवादीले काम गर्नुपर्छ । माओवादीबाट लाभको पदमा बसेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ ।’




















प्रतिक्रिया