काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौमा वडा समितिका उम्मेदवार संकलन गर्ने भएको छ । संगठन निर्माण र विस्तारमा जुटेको रास्वपाले अनलाइनमार्फत भदौमा वडा समितिका उम्मेदवार संकलन गर्न लागेको हो ।
रास्वपाका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट संकलन गर्ने तयारी भइरहेको छ । भदौ महिनाभरी हामीले उम्मेदवारी लिन्छौं ।’ उनका अनुसार उम्मेदवारी संकलन भइसकेपछि असोजमा दाबी–विरोधको प्रक्रिया सुरु हुने छ ।।
त्यसपछि अनलाइन भोटिङमार्फत वडा समिति गठन हुने उनको भनाइ छ । ‘सम्बन्धित वडा प्रचार–प्रसार भेला भएर गर्छन् । निर्वाचन भने अनलाइनमार्फ नै हुन्छ,’ बुर्लाकोटी भन्छन् ।
रास्वपाको वडा समितिमा वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु रहने व्यवस्था छ । ११ सदस्यीय वडासमितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ ।
रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ । सबै पालिका र निर्वाचन क्षेत्रमा पनि समिति गठनको गृहकार्य भइरहेको बुर्लाकोटीको भनाइ छ ।




















प्रतिक्रिया