Logo

अर्थ

बैंकमा लगानी योग्य रकम थुप्रियो, विभिन्न स्किम ल्याउँदा पनि भएन कर्जा प्रवाह



काठमाडौं । यतिखेर बैंकमा लगानी योग्य रकम थुप्रिन थालेको छ । बैंकमा रकम भएपनि कर्जाको माग नभएपछि बैंकहरुलाई दबाबमा परेका छन् । सर्वसाधारणको उपभोग क्षमता अर्थात् माग घट्दा व्यावसायिक क्षेत्र थप लगानीका लागि उत्साहित हुन सकेका छैनन्। जसकारण निजी क्षेत्रबाट कर्जाको माग पनि निकै कम छ । आर्थिक संकुचनका कारण खराब कर्जा बढ्ने भयले असारसम्म कर्जा असुलीमा केन्द्रित भएका बैंकहरुले साउन लागेपछि विभिन्न स्किम ल्याउँदा पनि कर्जा प्रवाह हुन नसकेको हो ।

बैंकहरुले आधार दरमा ठूलो मार्जिन नै नराखी कर्जा प्रवाहका लागि विभिन्न स्किम ल्याएका छन् । कतिपय बैंकले एक अंकमै ब्याजदर तोकेका छन् । राष्ट्रिय वाणिज्य बैंकले ८.३४ प्रतिशतमै घर कर्जा उपलब्ध गराएको छ ।त्यस्तै नबिल बैंकले ९.५२, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९.५७ र एभरेस्ट बैंकले ९.९२ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने जनाएको छ ।

नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकको अटो कर्जा पनि एकल अंकमै छ । तर पनि कर्जा लगानी बढ्न सकेको छैन । वैशाख २ यताका साढे ३ महिनामा वाणिज्य बैंकमा १ खर्ब २५ अर्ब निक्षेप थपिएको छ । समीक्षा अवधिमा निक्षेप ४८ खर्ब २२ अर्बबाट बढेर ४९ खर्ब ४७ अर्ब पुगेको छ । तर, कर्जा प्रवाह ९ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको साउन १४ सम्मको तथ्यांकले देखाउँछ ।

साउनयताका १४ दिनमा कर्जा प्रवाह ऋणात्मक बनेको हो । साउन १ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४३ खर्ब १२ अर्ब पुगेकोमा साउन १३ गते २० अर्बले ऋणात्मक बन्दै ४२ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ ।नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत उत्पादनशील क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको छ । बैंकहरुले पनि उत्पादनशील क्षेत्रका साथै समग्र आर्थिक क्षेत्रलाई चलायमान गराउने घर कर्जामा केन्द्रित भएर विभिन्न स्किम ल्याए पनि कर्जाको माग बढेको छैन ।

कर्जा माग हुननसकेकोबारे नेपाल बैंकर संघका अध्यक्ष एवं एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीसँग प्रश्न गर्दा नयाँ आर्थिक वर्ष शुरु भएको र कतिपयले नयाँ योनाहरु बनाउँदै गरेका र कर्जा माग हुने क्रम रहेकाले अहिलेनै कर्जा मागलबारे टीप्पणी गरिहाल्न नमिल्ने बताए । तथापि बिस्तारै घर कर्जाले निर्माण क्षेत्र चलायमान हुँदा सिमेन्ट, इँटा, रड, ढुंगा, बालुवालगायतका सबै क्षेत्र र श्रम क्षेत्र पनि चलायमान हुने भएकाले घर कर्जामा अधिकांश बैंकहरु केन्द्रित भएको उनको भनाई छ । मंगलवार बैंकहरुको कर्जा निक्षेप अनुपात ८३.४२ प्रतिशतमा झरेको छ भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम झण्डै चार खर्ब पुगेको छ ।

यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी नीतिगत व्यवस्था नगर्दासम्म कर्जा माग हुननसक्ने जनाएको छ । उनले सरकारले मुलुकभित्र भएको प्राकृतिक स्रोत र साधनलाई सदुपयोग र निर्यात प्रवर्द्धन गर्ने गरी राष्ट्रिय नीतिको व्यवस्था गर्न नसक्दासम्म तुलनात्मक रुपमा कर्जाको माग नहुने बताए । ‘अहिले भएका उद्योगधन्दा सबै सुस्ताएका छन्, उद्योगीहरुले कर्जा लिन सक्ने अवस्था छैन ।,त्यस्तै सामान्य मानिसले बैंकको ब्याज घट्ला र कर्जा लिउँला भन्ने आशामा छन् ।’उनले भने ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार १७:५५   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।