Logo

पत्रपत्रिका

यी हुन् दोहोरो नागरिकतादेखि ठगीसम्मका ल्हारक्यालका ‘प्रतिभा’ !



ल्हारक्याल लामाको विवादास्पद छवि अपरम्पार छ ।

दोहोरो नागरिकता, भारतीय रासनकार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमा त्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।

तर देशमा उनीजस्तो ‘प्रतिभा’ अरू कोही नपाएजस्तै गरी सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लामालाई नियुक्ति दिएको हो । विश्व सम्पदामा सूचीकृत बुद्ध जन्मभूमि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने, ऐतिहासिक सम्पदास्थलको संरक्षण गर्ने र बौद्ध दर्शनको अध्ययन–अनुसन्धान गर्ने/गराउने सर्वोच्च निकाय हो लुम्बिनी विकास कोष । वार्षिक करोडौं बजेट सञ्चालन गर्ने कोषमा उपाध्यक्ष शक्तिशाली पद हो । यसमा गृह, पर्यटन, परराष्ट्र र अर्थ मन्त्रालयका सचिवलगायत सदस्य हुन्छन् ।

विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल लुम्बिनीको संरक्षण र अन्वेषण गर्ने निकायमा लामाले कसरी नियुक्ति पाए ? ‘उहाँ हाम्रै पार्टीको केन्द्रीय सदस्य । सबै योग्यता पुग्ने र त्यही समुदायको माग पनि भएको हुनाले नेपाल सरकारले उहाँलाई नियुक्त गरेको छ । अरू कुरा आइलागे बेहोरौंला न,’ मन्त्री किरातीले भने ।

गत मंगलबारको मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरेको भनिएको छ, तर बैठकमा सहभागी अन्य मन्त्रीहरूले यस्तो प्रस्ताव आएको र छलफल भएको आफूहरूलाई थाहै नभएको बताए । उनीहरूले निर्णयप्रति आश्चर्य व्यक्त पनि गरे । खासमा बैठक सकिएपछि प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले निर्णय थपेको बुझिएको छ । यस विषयमा जिज्ञासा राख्दा मन्त्री किरातीले भने, ‘नेपालको कार्यकारी भनेको प्रधानमन्त्री हो । उपप्रधानमन्त्रीहरूसँग छलफल गरेर, मुख्यसचिवसँग छलफल गरेर टुंग्याउँछु भन्नुभएको थियो प्रधानमन्त्रीले ।’

ल्हारक्याल लामाले शक्तिमा जति पहुँच पुर्‍याएका छन्, त्योभन्दा बढी विवाद सिर्जना गरेका छन् । बौद्धस्थित धाप्साङ रिम्पोछे गुम्बामा बौद्ध धर्मसम्बन्धी अध्ययन गरेका उनले भारतको कर्नाटकस्थित पेनोर रिम्पोछे गुम्बामा अध्ययन गरेका थिए । भारतबाट फर्केपछि उनले केही समय हेलम्बु क्षेत्रमा बौद्ध दर्शनसम्बन्धी प्रवचन चलाए । त्यही बेला सिन्धुपाल्चोकका कांग्रेस नेता कान्छा लामाको सम्पर्कबाट उनी मोहनबहादुर बस्नेतको नजिक पुगे । पछि खुमबहादुर खड्कासँग निकट सम्बन्ध बनाएर ०५८ सालमा गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष बनेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ०८:४३   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।