Logo

प्रमुख समाचार

संसदीय समितिको नेतृत्वमा मिल्यो भागबण्डा, राप्रपा र रास्वपालाई छैन



काठमाडौं । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको सहमतिबारे जानकारी गराएका थिए । जसअनुसार संसदको सबभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटा समिति सभापति पाउनेछ । एमालेले ३ र माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले एकएक समितिको सभापति पाउनेछन् ।

प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ ।

यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ । संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । विषयगत समितिमा गठबन्धन दलबीच आजै सहमति हुने छ ।

संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौं दल राप्रपालाई भने समिति सभापति छैन । ‘सत्ता गठबन्धन र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले गरेको भागबण्डा हो यो,’ माओवादीका एक सांसदले भने, ‘आज बस्ने उच्चस्तरीय बैठकले अनुमोदन गरेपछि यसले अन्तिम रुप पाउनेछ ।’

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १२:१३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।