काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लाग थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर भेटेका छन्। बुधबार दिउँसो सुन्धारा पुगेका कोइरालाले खाणसँग झन्डै एक घण्टा बिताएका थिए ।
कांग्रेस संस्थापन इतर समूहका नेता कोइरालाले सभापति शेरबहादुर देउवानिकट खाणलाई जेलमा पुगेर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खाण आफूलाई रिहा गर्न माग गरेको निवेदनमा उच्च अदालत पाटनमा पेसी चढेर सुनुवाइ तयारी हुँदै गर्दा दुई नेताबीच संवाद भएको हो।
तर दुई नेताबीचको कुराकानीबारे केही पनि बाहिर आएको छैन। यसअघि उच्च अदालतले खाणको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको कैफियत प्रतिवेदन झिकाइसकेको छ। जिल्लाले पनि उक्त आदेशको कैफियत प्रतिवेदन उच्च अदालतमा पठाइसकेको छ।
अब उच्च अदालतले खाणलाई रिहा गर्ने कि जिल्लाकै आदेश सदर गरेर थुनामै राख्ने निर्णय लिन बाँकी छ।




















प्रतिक्रिया