काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।
यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ । मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
भारतमा गत महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो । भारतमा प्याज केजीको २४ भारु परिरहेको छ । भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ ।
नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ । विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ ।
हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ । नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।




















प्रतिक्रिया