काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।
उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपीलसमेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।
यस्तै, सारुकको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताएकी छिन् । घटना केही समय अघिको भएपनि अहिले सामाजिक सञ्जालमार्फत् यसबारे बोल्न बाध्य भएको बताइन् ।
आफू विरलै मिडियामा आउने गरेको तर यो घटनापश्चात् एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोकल्पित समाचार लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरु पूर्वाग्रही हिसाबले लागेको र यो क्रियाकलापलाई उनको परिवार र कानुनी समूहले नजिकबाट नियालेको जानकारी दिइन् ।
प्रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गर्दै नम्रताले प्रहरीले दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान हुनेमा आफू आशावादी रहेको बताएकी छन् । उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् ।





















प्रतिक्रिया