काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्नेहरूलाई छानीछानी चुनाव हराएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसको शिकार आफू पनि भएका बताए ।
एमसीसी सदनबाट पारित हुँदै गर्दा आफू मात्रै एक्लो विरोधी रहेको खनालले बताए । त्यसबखत आफ्नो पार्टीले समेत बोल्न नसकेको उनले गुनासो गरे । ‘अब जसरी अनुमोदन गरेको छ, खारेज हुन्छ त ? त्यो संसदमा अनुमोदन गर्दा म एक जनामात्रै हुँ, यो राष्ट्रघात हो नगरौं भन्ने । न मेरो पार्टीले बोल्ने सक्यो न त कुनै वाम भन्ने पार्टीले बोल्न सके’, खनालले भने, ‘साम्राज्यवादका सामुन्ने नतमस्तक भएर अनुमोदन गरियो । यो इतिहासको दुर्भाग्यपूर्ण क्षण हो । यसको विरुद्ध कुरा उठाएपछि हराउने नियतले एउटा ठूलो ग्राण्ड डिजाइन गरिएको थियो । त्यसको शिकार मलाई पनि बनाइयो ।’
नेता खनालले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।




















प्रतिक्रिया