काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न आफ्नो चीन भ्रमणमा चुच्चे नक्साको विषय उठाउने भएका छन् ।
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा कुरा उठाउने बताएका छन् ।
“धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ । हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ,” प्रवक्ता सापकोटाले भने ।
गत मङ्गलबार चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेऊमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
तर छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले नेपालको पुरानै नक्सा राखेपछि यसको आलोचना हुँदै आएको छ ।
















प्रतिक्रिया