Logo

खेलकुद

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सुनुवाइ सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतको आदेश बमोजिम शीघ्र सुनुवाइमा परेको यो मुद्दामा अन्य कुनै आदेश नभए बिहीबार हेर्दाहेर्दैमा रहने सम्भावना छ । बिहीबार सुनुवाइ नसकिएमा हेर्दाहेर्दैमा राखेर उक्त मुद्दा शुक्रवार सुनुवाइ हुनेछ ।

यसअघि भदौ १० गते नै उक्त मुद्दाको अन्तिम सुनुवाइ भनिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो । भदौ १० गतेको पेशीमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याउनेमा परेपछि भदौ २१ गतेका लागि पेसी तोकिएको थियो । भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भई २१ गतेका लागि पेसी तोकिएपछि लामिछाने भदौ ११ गते नै एसिया कप खेल्न पाकिस्तान गएका थिए ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:३४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।