काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा फाइनल पुग्दै ग्लोबल छनोट खेल्ने नेपालको सपना अधुरै भएको छ । नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भयो ।
थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाईल्यान्डका लागि ओन्निचा कामचोम्फु र थिप्चा पुत्थावोंगले समान ३/३ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।
थाईल्यान्डका लागि नान्नापत खोन्चरोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाईन् ।
नेपालका लागि कविता कुवँर र पूजा महतोले समान १/१ विकेट लिएका थिए । यस खेलमा विजेता भएसँगै थाईल्यान्डले टी-ट्वान्टी महिला विश्वकप २०२४ को ग्लोबल छनोटमा स्थान बनाउने छ ।




















प्रतिक्रिया