काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय पुँजीपतिहरूलाई छानी–छानी लखेटिरहेको आरोप लगाएका छन्।
मीनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी निर्माणमा योगदान गरिरहेकाले उनीहरूलाई सरकारले दुःख दिने काम गरेको उनको भनाइ छ ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताए ।
राष्ट्रिय पुँजीको निर्माणमा योगदान दिइरहेका गुरुङ र यति होल्डिङ्सबिरुद्ध गायत्री मन्तर जपेजस्तो जपेर लखेट्ने काम सरकारले गरेको उनले टिप्पणी गरे ।
यति होल्डिङलाई खेद्नेहरू दलाल पुँजीवादीहरू भएको भन्दै ओलीले यस्ताहरूको विरोध गर्न पाउने अवस्था समेत मुलुकमा नरहेको बताएका छन् ।
सरकारको गलत कार्यको विरुद्ध बोल्दा सांसदले समेत समातिनु परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा दलाल पुँजीवादले मुलुकमा तमासा देखाइरहेको बताए। उनले धनिपूर्जाको आधारमा जग्गा खरिद गर्ने गुरुङलाई किन समातेको ? सरकारलाई प्रश्न गरे ।
अध्यक्ष ओलीले भने, ‘मीनबहादुर गुरुङलाई किन समातेको होला ? पाँच छ जनाले खरिद गरिसकेको जमिन, उसले धनिपूर्जा हेरेर किन्यो । अर्कोसँग धनिपूर्जा हेरेर भूमिसुधारमा गएर पास गरेको होला नि । त्यसरी पास गरेर जग्गा किनेको मान्छेलाई किन कारबाही ?’
त्यसैगरी, सोलुको एउटा शेर्पाले यहाँ आएर हवाईजहाज उडाएको छ । पर्यटन क्षेत्र पनि चलाएको छ । होटल पनि चलाएको छ । यो त राष्ट्रिय पुँजी हो नि उनले भने ।
अध्यक्ष ओलीले बैङ्कहरूले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुभयो । ठुला पुँजीपतिलाई खोजेर अरबौँ लगानी गर्ने बैङ्कहरूले अझै पनि गरिबलाई ऋण दिन तयार नभएको अध्यक्ष ओलीको भनाइ छ । उनले साना बैङ्क तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताए ।




















प्रतिक्रिया