काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेर काममा फर्किएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु नियमित काममा फर्किएका हुन् ।
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका थिए भने २५ भदौमा कार्गो जाँचपास बन्द गरेका थिए ।
भन्सार विभागसहित अर्थ मन्त्रालयले अनावश्यक रुपमा दुःख दिने अवस्था आउन नदिने प्रतिबद्धता समेत जनाएको भन्दै कर्मचारीहरु आन्दोलन रोकेर काममा फर्किएका छन् ।
कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो थियो । यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।
गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भए पनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका थिए ।




















प्रतिक्रिया