Logo

अर्थ

असोजका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि ब्याजदर प्रकाशित गरेका छन् ।  नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकको ब्याजदर घटेको छ कुनैको बढेको छ ।

हालसम्म प्रकाशित १७ वाणिज्य बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् । त्यसैगरी ६ बैंकहरुले घटाउँदा ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

नयाँ प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर १०.३५८ प्रतिशत ब्याज दिने छन् ।

हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् ।

त्यस्तै, प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाको ब्याजदरमा परिवर्तन गरेका छैनन् । ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् ।

सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ । हिमालयनले १.०६४ प्रतिशतविन्दु ब्याजदर बढाएको छ । एभरेष्ट बैंक पनि १.०५४ प्रतिशतबिन्दुले ब्याजदर वृद्धि गरेको छ । यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११.०५४ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टेमन्ट मेगा बैंकले १.०४ प्रतिशतले बढाएको छ । यसको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ ।

नबिल बैंकले पनि ब्याजदर ०.५६४ प्रतिशतले बढाएको छ । यसले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०५४ प्रतिशत ब्याज दिनेछ । त्यसैगरी संस्थागत मुद्दति निक्षेपमा अधिकतम ९.०५४ प्रतिशत ब्याज दिने भएको छ ।

नेपाल एसबिआई, प्रभु, ग्लोबल आईएमई, कुमारी, सिटिजन्स र लक्ष्मी सनराइजको ब्याजदर १० प्रतिशतमाथि छ । एनएमबि, माछापुच्छ्रे, सिद्धार्थको ब्याजदर ९.९९ प्रतिशत रहेको छ । नेपाल बैंकले पनि व्यक्तिगततर्फ ९.२९३ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकले मुद्दति निक्षेपमा अधिकतममा ९.२९ प्रतिशत ब्याज दिने भएको छ । कृषि विकास बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले भने ब्याजदर प्रकाशित गर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १२:४१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।