Logo

प्रमुख समाचार

माओवादी केन्द्रको आधार इलाकामा रास्वपा



बाँके । रोल्पा नेकपा माओवादी केन्द्रको उद्गमस्थल हो भने कालिकोट प्रभाव क्षेत्र हो ।

जनसत्ताको केन्द्रीय राजधानी भएको रोल्पामा माओवादीले १० मध्ये सात स्थानीय तहसँगै प्रदेश र संघीय चुनावमा जितेको छ ।

यता कालिकोटका ९ स्थानीय तहमध्ये माओवादीबाट बागी उठेका एक स्वतन्त्रसहित ६ वटामा माओवादी एक्लैले जितेको छ । यस हिसाबले पनि माओवादीले रोल्पा र कालिकोटलाई आधार इलाका मान्छ ।

यही आधार इलाकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जन आवाज सुन्ने प्रथम चरणको कार्यक्रम अन्तर्गत पार्टीका शीर्ष नेतालाई परिचालन गरेको छ । बुधबारदेखि १९ जिल्लामा सुरु भएको उक्त कार्यक्रम पश्चिमका आठ जिल्लालाई समेटिएको छ। पश्चिमका आठ जिल्लामध्ये रोल्पा र कालिकोटमा हुने उक्त अभियानलाई महत्वका साथ हेरिएको छ ।

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन् । रोल्पामा पूर्व गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछाने र कालिकोटमा परिचालित महामन्त्री ढकालले प्रभाव पार्न सक्ने आँकलन गरिएको छ ।

यी जिल्लामा पूर्व जनमुक्ति सेना, अवसरबाट वञ्चित इमानदार माओवादी कार्यकर्ता र तल्लो स्तरका नेताहरु असन्तुष्ट छन् । यही असन्तुष्टिका बिचमा माओवादी आधार इलाकामै शीर्ष नेतृत्व पुग्दा यसलाई रणनैतिक रुपमा महत्वका साथ हेरिएको छ । माओवादीको मत काटेर रास्वपालाई शक्ति आर्जन भएको भन्ने आरोप पनि जनस्तरमा व्याप्त छ। यही आरोपकै बिच रास्वपाले माओवादी आधार इलाकालाई जोड दिएको विश्लेषण हुन थालेको छ ।

शान्तिपूर्ण ढंगले कुनै पनि दललाई आफ्नो विचार राख्ने अधिकार भएकाले यसलाई ठुलै अर्थ पूर्णरुपमा नहेरिएको नेकपा माओवादी केन्द्र रोल्पाका संयोजक पूर्ण केसीले जनाए ।

माओवादीको आधार इलाकामा रास्वपाका शीर्ष नेता नै परिचालन हुनु रणनैतिक हिसाबले महत्त्वपूर्ण भएको राजनीतिक विश्लेषक जनार्दन आचार्यले जनाए ।

रोल्पा, कालिकोटमा रास्वपा प्रवेश गर्नु नै उनीहरुको पहिलो रणनीति भएको उनको भनाइ छ। यस रणनीतिमा रास्वपा सफल भएको भन्दै उनले भने, ‘माओवादीका आधार इलाकामा कुण्ठित भएका असन्तुष्टि रास्वपा तिर ढल्किन सक्छ र यसले अन्ततः माओवादीलाई नै राजनीतिकरुपमा घाटा पुर्‍याउँछ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार ०८:३४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।