Logo

प्रमुख समाचार

विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् । समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए ।

समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै अध्यक्ष नेपालले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे । वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालीले भौगोलिक अखण्डता, मुलुकको स्वाभिमान रक्षा तथा अन्यायविरुद्ध सङ्घर्ष गर्ने आदर्शलाई कम्युनिष्टहरुले अवलम्बन गर्ने गरेको बताए । राष्ट्रियता, जनताको हितलाई केन्द्रमा राखेर सामाजिक न्याय सम्पादनमा कानुन व्यवसायी क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरणका बेरोजगारीको अन्त्य गर्नुपर्ने भन्दै त्यसका लागि औद्योगीकरणतर्फ लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउँदै उनले समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार १५:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।