काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबलिन लागेको निष्कर्ष निकाल्दै सचेत हुनुपर्नेमा जोड दिएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खलबलिने गतिविधि देखिएकाबारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । देशमा अराजकताको संकेत देखिएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए ।
‘धार्मिक सद्भाव खलबलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा देशका विभिन्न भागमा देखापरेको छ । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नुपर्छ’, प्रवक्ता सापकोटाले भने, ‘पछिल्लो समय अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिन सक्छ । त्यसैले बेलैमा सचेत भएर यी समस्याहरू समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो ।”
माओवादी विशेष रूपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टीपंक्ति गम्भीरतापूर्वक लाग्नुपर्ने पनि प्रवक्ता सापकोटाको जोड छ । ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टीपंक्ति गम्भीरतापूर्वक लाग्नुपर्यो । बाहिर पनि छलफल चलाउनुपर्यो । नेतृत्व लिनुपर्यो । सामाजिक संघ–संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ ।’
माओवादी पदाधिकारी बैठकमा आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले बताए । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले सुनाए ।
‘राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासोहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसद्मा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढंगले छलफल गर्यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौँ,’ उनले भने ।




















प्रतिक्रिया