काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे आफ्नो भ्रमणका क्रममा कुरा भएको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले आफ्नो चीन भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरामा सिधै चीनबाट उडान गर्नेबारे सकारात्मक छलफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले दुई देशको हवाइ उडान सहकार्यका विषयमा पनि कुराकानी भएको बताए । ‘नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाइ उडान गर्ने र दुई देशको हवाइ उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल हुनुको साथै दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने कुरा भएको छ’ उनले भने ।
भ्रमणका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको उनले बताए । चिनियाँ पक्षले काठमाडौं–तातोपानी सडक अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
हिल्सा सिमकोट सडकको सम्भाव्यता अध्ययन गरी अघि बढाउन र टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने पनि सहमति भएको उनले बबताए । मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।




















प्रतिक्रिया