Logo

अन्तर्राष्ट्रिय

माल्दिभ्समा नयाँ राष्ट्रपति चुनिएपछि भारत सशंकित चीन प्रफुल्लित !



एजेन्सी । गत शनिबार माल्दिभ्सको राष्ट्रपति चुनावमा मोहम्मद मुइज्जु विजयी भएका थिए । मोहम्मद मुइज्जू प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) गठबन्धनका नेता हुन् र चीनसँग घनिष्ठ सम्बन्धका लागि परिचित छन्।

नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको जन्म १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा लागेका थिए ।

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स र पिपुल्स नेसनल कंग्रेस (पीपीएम पीएनसी) गठबन्धनले विगतमा चिनियाँ ऋण र लगानीलाई खुलेर समर्थन गरेको थियो। उनको जितसँगै हालसम्म निवर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको ‘इन्डिया फर्स्ट’नीति अवलम्बन गर्दै आएको माल्दिभ्सको मनोवृत्ति परिवर्तन हुने र यो भारतका लागि समस्या बन्न सक्ने अनुमान भारतीयहरुको छ ।

शनीबार नै प्रधानमन्त्री नरेन्द्र मोदीले मुइज्जुलाई विजयी भएकोमा बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सहकार्य बढाउने बताएका थिए । मुइज्जुलाई ट्वीटरमा बधाई दिँदै प्रधानमन्त्री मोदीले लेखेका छन्, “माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा डा मोहम्मद मुइज्जुलाई बधाई तथा शुभकामना। भारत माल्दिभ्ससँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्न र हिन्द महासागर क्षेत्रमा हाम्रो समग्र सहयोग बढाउन प्रतिबद्ध छ।’

तर मोहम्मद मुइज्जुले दिएका सार्वजनिक अभिव्यक्तिबाट भारत सशंकित भएको छ । उनले आफ्नो चुनावी वाचामा अडिग रहेको र माल्दिभ्स द्वीपसमूहबाट भारतीय सेना हटाउने बताएका छन् । समाचार एजेन्सी एपीका अनुसार सोमबार आफ्नो जित मनाउन आयोजित एक कार्यक्रममा मुइज्जुले आफ्ना समर्थकहरूलाई भने, “म माल्दिभ्समा नागरिकको इच्छाविपरीत विदेशी सेनाको उपस्थितिको पक्षमा छैन।”

उनले ‘निर्वाचन परिणामबाट आम जनताले यहाँ विदेशी सेनाको उपस्थिति नचाहेको’ बताए । उनले आफ्नो सरकारले काम सुरु गर्ने बित्तिकै माल्दिभ्सबाट विदेशी सेना हटाउने काम सुरु गर्ने विश्वास दिलाएका छन् । माल्दिभ्सको स्थानीय मिडिया अखबार आवासका अनुसार मुइज्जुले विदेशी सेनाको फिर्ती निर्धारित नियम अनुसार गरिने र जसको सहयोग आवश्यक छ, त्यसलाई मात्र विदेशी सेना हटाउने प्रक्रियामा समावेश गरिने पनि बताए ।

मुइज्जुले माल्दिभ्सका जनताले विदेशी सैनिक नचाहेमा माल्दिभ्समा बस्न नसक्ने बताए । यद्यपि, मुइज्जुले माल्दिभ्समा विदेशी सेनाको उपस्थितिको बारेमा कुरा गर्दा कुनै पनि देशको नाम लिएनन्। तर आफ्नो चुनावी प्रचारका क्रममा उनले माल्दिभ्समा भारतीय सेनाको उपस्थिति रहेको उल्लेख गरेका थिए ।

चुनावअघि मुइज्जुको पार्टीसहितको  गठबन्धन प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स र पिपुल्स नेसनल कंग्रेस ‘PPM-PNC’  ले माल्दिभ्समा कथित भारतीय सैन्य उपस्थितिको बिरूद्ध “भारत आउट” नारा लगाएको थियो र धेरै प्रदर्शनहरू पनि आयोजना गरेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था ‘एपी’का अनुसार उनीहरुको मुख्य अभियान भारतीय सेनाको उपस्थिति माल्दिभ्सको सार्वभौमसत्ताका लागि खतरा हो भन्ने विश्वासमा आधारित थियो। यस अभियानको जवाफमा निवर्तवान राष्ट्रपति सोलिहले भारतीय सेना त्यहाँ डकयार्ड निर्माणका लागि तैनाथ गरिएको, भारत र माल्दिभ्सबीच भएको सम्झौताका कारण माल्दिभ्समा रहेको बताएका थिए ।

माल्दिभ्समा कति भारतीय सैनिक छन् भन्नेबारे कुनै जानकारी अहिलेसम्म खुलाईएको छैन। भारतीय सेनाको भूमिकालाई लिएर दुई सरकारबीच भएको सम्झौताको गोप्यताले भारतीय सेनामाथि शंका र हल्ला फैलाएको आलोचकहरू बताउँछन्।

म ‘माल्दिभ्स समर्थक’ हुँ – मोहम्मद मुइज्जु

गत शनिबार मोहम्मद सोलिहलाई रनअफमा पराजित गर्दै मोहम्मद मुइज्जुले राष्ट्रपति पदमा जित हासिल गरेपछि विश्वका सबै प्रमुख पत्रपत्रिकाले उनको जितलाई ‘चीन समर्थक’नेताको जित भनेका थिए । मुइज्जुले आफ्नो विदेश नीतिलाई चीन समर्थक प्रतिक्रिया भएको बताएका छन् ।

उनले आफ्नो सरकारको नीति ‘माल्दिभ्सको हितको लागि’हुने र आफ्नो देशको नीतिलाई सम्मान गर्ने हरेक देशसँग सम्बन्ध सुधार्ने बताए ।

माल्दिभ्सको विदेश नीतिमा परिवर्तन

सन् २००८ मा माल्दिभ्सको विदेश नीतिमा ठूलो परिवर्तन भयो। माल्दिभ्सका पूर्वराष्ट्रपति र संसद सभामुख भएका मोहम्मद नसिदले सन् २००८ मा मौमुन अब्दुल गयूमको शासन अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेका थिए। गयूमको शासनकालमा माल्दिभ्सको विदेश नीतिमा देशलाई खुलेर समर्थन गर्ने कुनै अभ्यास थिएन। त्यसपछि माल्दिभ्सले सन्तुलित नीति अपनायो।

माल्दिभ्सको स्थानीय पत्रिका ‘सन’ले सन् २००८ मा माल्दिभ्सले भारतप्रति आफ्नो झुकाव सार्वजनिक गरेको लेखेको छ । यसअघि माल्दिभ्सले कुनै पनि देशको खुलेर आलोचना गरेको थिएन। तर नसिदले फोरम र सोशल मिडियामा चीनको आलोचना गरेका थिए। उनले आफ्नो चीन विरोधी अडानलाई निरन्तरता दिएका छन् ।

जब अब्दुल्लाह यामीन २०१३ मा सत्तामा आए, उनले दृढ परराष्ट्र नीतिको परम्परालाई पछ्याए तर उनको झुकाव चीनतर्फ थियो। उनले माल्दिभ्सको घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै राष्ट्रमण्डल अथवा कमनवेल्थ नेशन (राष्ट्रमण्डल भारत, एन्टिगुआ, अस्ट्रेलिया, बङ्गलादेश, ब्रुनाई, क्यानडा, साइप्रस, घानासहित अन्य ५४ स्वतन्त्र राज्यहरूको एक सङ्घ)सँगको सम्बन्ध तोडेका थिए। उनले कतारसँगको द्वन्द्वमा साउदी अरबको साथ दिए र कतारसँगको सम्बन्ध तोडेका थिए।

सन् २०१८ मा माल्दिभ्सको विदेश नीति फेरि भारततर्फ मोडियो। वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह सत्तामा आएसँगै भारत र माल्दिभ्स फेरि नजिक भएका थिए । ‘सन’ पत्रिकाको रिपोर्टका अनुसार माल्दिभ्स पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा सबै क्षेत्रमा भारतमा धेरै निर्भर छ, माल्दिभ्सले यी क्षेत्रमा भारतको सहयोग लिन्छ।

इब्राहिम मोहम्मद सोलिहले कमनवेल्थ नेशनसँग माल्दिभ्सको सम्बन्ध पुनः सुरु गरे। चीनसँग राम्रो सम्बन्ध बनाए र धेरै देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गरे।

भारतका लागि माल्दिभ्स किन महत्त्वपूर्ण छ?

माल्दिभ्स चीनको लागि निकै महत्वपूर्ण रणनीतिक गन्तव्य हो। भारतका लागि माल्दिभ्सको क्षेत्रमा रणनीतिक रूपमा अवस्थित समुद्रको धेरै महत्त्व छ। चीनको उपस्थिति हिन्द महासागरमा हुनु माल्दिभ्सको रणनीतिको हिस्सा हो। सन् २०१६ मा माल्दिभ्सले चिनियाँ कम्पनीलाई ४ मिलियन डलरमा ५० वर्षको लागि टापु भाडामा दिएको थियो ।

अर्कोतर्फ, माल्दिभ्स भारतका लागि कम महत्त्वपूर्ण छैन। माल्दिभ्स भारतसँग एकदमै नजिक छ र चीनले त्यहाँ आफ्नो पाइला टेक्यो भने भारतको चिन्ता हुनु स्वाभाविक हो। माल्दिभ्स भारतको लक्ष्यद्वीपबाट लगभग 700 किलोमिटर र भारतको मुख्य भूमिबाट 1200 किलोमिटर टाढा छ।

प्रतिकूल परिस्थितिमा चीनलाई मालदिभ्सबाट भारतमाथि नजर राख्न सजिलो हुनेछ। माल्दिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । यो भारतका लागि पनि अचम्मको कदम थियो । यसले माल्दिभ्स भारतबाट कति टाढा छ र चीनसँग कति नजिक छ भन्ने कुरा स्पष्ट गर्छ।

सन् १९८८ मा राजीव गान्धीले सेना पठाएर मौमुन अब्दुल गयूमको सरकार बचाएका थिए । माल्दिभ्समा सन् २००४ मा सुनामी आएपछि भारतबाट पहिलो विमान सहयोग पठाइएको थियो ।

विदेशमा मुइज्जुको विजयमा कस्तो कभरेज?

चीनमा मोहम्मद मुइज्जुको जितलाई ‘भारत र अमेरिकाका लागि झड्का’ भनिएको छ । चीनको सरकारी सञ्चारमाध्यमले मुइज्जुको जितलाई ‘चीनको जित र अमेरिका र भारत दुवैका लागि झटका’ भनेर वर्णन गरेको छ।

बेइजिङ डेलीले लेखेको छ, ‘यो चुनावी नतिजा भारतका लागि झट्का हो।’ अल जजीराले माल्दिभ्सको चुनावी नतिजाको कभरेजमा ‘चीन समर्थक’ नेताको विजय भनेको छ। शनिबारको मतदानलाई भारत र चीनले नजिकबाट नियालेर हिन्द महासागरमा आफ्नो प्रभाव बढाउन चाहेको र माल्दिभ्सको नयाँ सरकारले यसलाई प्रभाव पार्ने लेखमा उल्लेख छ ।

मुइज्जुको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) नेतृत्वको गठबन्धनले सन् २०१३-२०१८ सम्म सत्तामा रहँदा मुख्य पूर्वाधार निर्माण गर्न चीनबाट करोडौं डलर ऋण लिएर चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई अपनाएको थियो।

यस विजयलाई भारतको विदेश नीतिमा झड्काको रूपमा व्याख्या गर्दै अमेरिकी अखबार वाशिंगटन पोस्टले लेखेको छ, “माल्दिभ्समा भएको मतदानले एसियाको सबैभन्दा सानो देशमा भारत समर्थक र चीन समर्थकहरूबीचको तिक्ततालाई एकपटक फेरि उजागर गरेको छ । हिन्द महासागरको यो टापु देश भारत र चीनका लागि विशेष महत्व राख्दछ। यो देश व्यापार र सुरक्षा दुवैको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।”

न्युयोर्क टाइम्सले माल्दिभ्सको राष्ट्रपति चुनावको नतिजालाई लिएर  लेखेको छ- ‘चीन र भारतका लागि माल्दिभ्समा नीतिमा यस्तो परिवर्तन भएको सरकार हुनु नौलो कुरा होइन। यसअघि चीनले माल्दिभ्ससँग नजिक रहँदै बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत माल्दिभ्सलाई करोडौं ऋण दिएको थियो। वर्तमान शक्तिमा भारतले त्यहाँ आफूलाई बलियो बनाएको छ ।’

पछिल्लो १० वर्षमा भारतले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर र एउटा सानो विमान दिएको जनाइएको छ । सन् २०२१ मा माल्दिभ्स डिफेन्स फोर्सले ७५ भारतीय सैन्य अधिकारीहरू माल्दिभ्समा बस्ने र भारतीय विमान सञ्चालन र मर्मतसम्भार गर्ने बताएको थियो। कोरोना महामारीका बेला भारतले माल्दिभ्सलाई उपहारस्वरुप कोभिशिल्ड भ्याक्सिन दिएको थियो । गत वर्ष माल्दिभ्ससँग भारतको व्यापार ५० करोड डलरभन्दा बढी थियो ।

यस वर्ष माल्दिभ्समा हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुँदा भारतका विदेशमन्त्री एस जयशंकर पनि सो समारोहमा उपस्थित थिए । यसपछि मेमा रक्षामन्त्री राजनाथ सिंहले पनि माल्दिभ्सको तीन दिने भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १४:५९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।