Logo

गण्डकी प्रदेश

एमाले गण्डकी अधिवेशन : जुटेन सहमति, पृथ्वीसुब्बा र खगराज प्यानलबीच प्रतिस्पर्धा हुने



कास्की । नेकपा एमालेको प्रथम गण्डकी अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने केन्द्रको प्रयास करिब विफल भएको छ । यससँगै पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

अध्यक्षका लागि पृथ्वीसुब्बा समूहबाट नवराज शर्मा र खगराज समूहबाट मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका नवराज एमाले गण्डकीका हालका अध्यक्ष समेत हुन् भने मायानाथ एमाले केन्द्रीय सदस्य हुन् ।

शर्मा र अधिकारीले अघोषित रूपमा आआफ्नो प्यानल तयार गरेर ५ पदाधिकारीमा छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्तापछि अध्यक्षका उम्मेदवार मायानाथ अधिकारीले मतदानमार्फत हुने नेतृत्व चयनलाई लोकतान्त्रिक र स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताएका छन् ।

अध्यक्षका अर्का प्रत्याशी नवराज शर्माले पनि अब मतदानमार्फत नै नेतृत्वको टुङ्गो लाग्ने बताए । यद्यपि उनले सहमतिका लागि प्रयासहरू भइरहेको भन्दै सहमति नजुटे प्रतिस्पर्धामा जानुको विकल्प नभएको बताए । एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले पनि अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने बताए ।

निर्वाचन समितिका अनुसार बुधबार साँझबाट मतदानको कार्यतालिका सार्वजनिक गएिको भएपनि दिनभर पानी परेकाले बिहीबार मात्रै मतदान गर्नेबारे छलफल भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले उम्मेदवारको मनोनयन सकिएकाले बाँकी प्रक्रिया सुरु गर्ने बताए ।

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधिले भाग लिएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १७:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।