Logo

प्रमुख समाचार

एमाले लुम्बिनीका सचिवालय सदस्यसहितका नेताहरू माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजन माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । उनीसहितका नेता कार्यकर्ता एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।

प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।

पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार ११:५४   :  बजे

486
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।