Logo

कोशी प्रदेश

कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिए ६ दिनको समय



विराटनगर । कोशी प्रदेशमा अन्ततः सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् ।

नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेश प्रमुखले असोज २६ गते साँझसम्मको समय दिएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् । उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् । यद्यपि मुख्यमन्त्री कुन दललाई हुने र को हुने भन्ने विषयमा ती दलहरू अहिलेसम्म अनिर्णित छन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई संविधानविद् विपिन अधिकारीले ‘हतारोको काम’ भनेका छन् । उनले अहिले नै उपधारा ५ मा जानु हतारो हुने टिप्पणी गरेका हुन् ।

अधिकारीले उपधारा ३ को सरकारले विश्वासको मत नपाएपछि वा राजीनामा दिएपछि सिधै उपधारा ५ मा जान नहुने बताए । प्रदेश प्रमुखले कुनै पनि उपधारा उल्लेख नगरी सरकार गठनको आह्वान गर्नुपर्ने र दुई वा दुईभन्दा धेरै दलहरू मिलेर बहुमत सिद्ध गरेमा उपधारा २ अनुसारकै सरकार गठन गर्नुपर्ने उनको तर्क छ ।

‘उपधारा ५ भनेको अरू विकल्प सकिएर विघटन नजिक पुग्ने विषय भएकाले राखिएको हो । निर्वाचन भएको एक वर्ष नपुगी विघटनको डिलमा पुग्नु नागरिकमाथि पनि अन्याय हो,’ अधिकारीले भने, ‘२ अनुसारको सरकार बन्ने सम्भावना छ भने त्यो पनि खुला गर्नुपर्थ्यो र २ अनुसार सरकार नबनेको अवस्थामा मात्र ५ मा जानुपर्थ्यो ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ०८:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।