काठमाडौं । सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई नेपालले समर्थन गर्ने भएको छ । आइतबार एक विज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने बताएको हो ।
एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने बताएको हो । पछिल्लो समय साउदीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरु आयोजना भइरहेको उल्लेख गर्दै एन्फाले साउदी अबरले भौतिक पूर्वाधारमा गरेको लगानी र साउदी अरबको भिजनरी नेतृत्वले सन् २०३४ को विश्वकप सफलतापूर्वक आयोजना गर्न सक्ने जनाएको छ ।
एन्फाले सबै एसियन सदस्य राष्ट्रले एसियाली भूमिका विश्वकप फुटबल फर्काउने अवसरलाई साथ दिने विश्वास समेत व्यक्त गरेको छ ।
सन् २०३४ को विश्वकप आयोजनाका लागि एसियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ । सोही अनुसार एसियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ ।
सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिकोसँग मिलेर अमेरिकाले आयोजना गर्दैछ भने सन् २०३० को विश्वकप तीन महादेशमा संयुक्त रुपमा आयोजना गर्ने फिफाको तयारी छ । त्यसपछि सन् २०३४ को विश्वकप आयोजनामा साउदी अबरले जोड गरेको छ ।




















प्रतिक्रिया