Logo

खेलकुद

विश्वकप क्रिकेट : कोहली र राहुलको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाविरुद्ध भारतकाे जित



एजेन्सी । घरेलु टोली भारतले विश्वकप २०२३ मा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले ४१.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतलाई जित दिलाउन विराट कोहली र केएल राहुलको उत्कृष्ट ब्याटिङ गरे । केएल राहुल १ सय १५ बलमा ८ चौका र २ छक्कासहित ९७ रनमा अविजित रहे । विराट कोहलीले १ सय १६ बलमा ६ चौकासहित ८५ रनको योगदान दिए ।

कोहलीले सुरुवातमै व्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा टप एज लागेको बल मिचेल मार्शले छाड्न पुगेका थिए । कोहलीको त्यो क्याच भारतको जितको टनिङ प्वाइन्ट बन्यो । अष्ट्रेलियाको हारको कारण बन्यो ।

एक समय भारत २ ओभरमा ३/२ को दयनीय अवस्थामा पुगेको थियो । प्रमुख तीन ब्याटर शून्यमा आउट भएपनि चौथो विकेटका लागि कोहली र राहुलले १ सय ६५ रनको साझेदारी गर्दै जित पक्का गराएका थिए । त्यो साझेदारी नै जितको आधार बन्यो ।

मिचेल स्टार्कको पहिलो ओभरको पाँचौं बलमा ईशान किशन क्यामरन ग्रीनबाट स्लिपमा क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । दोस्रो ओभरको तेस्रो बलमा हेजलवुडले रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गरे ।

अन्तिम बलमा श्रेयस ऐर शून्यमा डेविड वार्नरबाट क्याच आउट भएपछि ३/२ को दयनीय अवस्थामा पुगेको थियो । तर त्यसपछि विकेट लिन नसकेपछि पराजित भएको हो । हार्दिक पान्ड्या ८ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुडले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले ८ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार २२:१७   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।