काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन वार्ता गरेका छन् । इजरायल र हमास समूहबीचको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरू आफ्ठ्यारोमा परिरहेका सन्दर्भमा मंगलबार दुई देशका परराष्ट्र मन्त्रीहरूबीच टेलिफोट वार्ता भएको हो ।
त्यस क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा सार्न र घर फर्कन चाहनेहरूका लागि सहजीकरण गर्न आग्रह गरे भने आक्रमणमा परी मृत्यु भएका नेपालीको शव स्वदेश पठाउन सहयोग पनि मागेका छन् ।
त्यस्तै दुःखद् घडीमा नेपाल इजरायलसँगै रहेको पनि परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षीसँगको कुराकानीमा बताएका थिए । इजरायली विदेशमन्त्री कोहेनले नेपालको ऐक्यबद्धताका लागि धन्यवाद दिएका थिए ।
त्यस्तै उनले त्यहाँ रहनेहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका साथै नेपाल फर्कन चाहनेहरूलाई इजरायल सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले मृत्यु भएका नेपालीहरूको शव पठाउन पनि सहयोग गर्ने बताएका छन् ।
शनिबार बिहान हमासको आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ भने सयौँ नेपाली स्वदेश फर्कन चाहेका छन् ।




















प्रतिक्रिया