Logo

प्रमुख समाचार

नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । ‘मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी त छैन तर अनौपचारिक रुपमा सूचना लिएका छौं ।’

मोदी आउन लागेको थाहा पाएपछि भारतीय डिएमलाई फोन गरेर सोध्न खोजे पनि सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।

भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गरेका छन् । उनले मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ ।

प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १२:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।