काठमाडौं। सत्तारुढ गठबन्धनले कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा आघि सार्ने निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । यद्यपि मुख्यमन्त्री आफूले पाउने पर्ने भन्दै कांग्रेस संस्थापन इतर पक्षका केदार कार्कीले दाबी छाडेका छैनन ।
तर सभापति शेरबहादुर देउवा माओवादीका आङ्बोलाई बनाउन सहमत भएपछि गठबन्धनले यस्तो निर्णय गरेको हो । संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठन आह्वान भएयता राप्रपाले साथ नदिने भएकाले आफ्नो पार्टीको नभई माओवादीलाई नै मुख्यमन्त्री छाड्ने मनस्थितिमा थिए । सोही अनुसार आज गठबन्धनले औपचारिक निर्णय नै गरेको हो ।
उपाध्यक्ष पाण्डेका अनुसार आजै नै दाबी पेस गर्ने समेत सम्भावना छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५)अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । त्यसअघि नै दाबी पेस गर्ने तयारी गठबन्धनले गरेको हो ।
धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले विश्वासको मत पाउने आधार नबनेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकार बन्न सक्ने अन्तिम संवैधानिक विकल्प अघि सारिएको हो ।




















प्रतिक्रिया