काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई कांग्रेसजस्तो बनाउने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने बताएका हुन् ।
‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ,’ उनले भने ।
महामन्त्री थापाले एमाले र माओवादीले मात्रै नभएर कांग्रेसलाई राप्रपाले समेत खेलाएको टिप्पणी गरे । ‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माअोवादीले खेलाइदिने । अहिले त राप्रपाले पनि खेलाइदियो,’ उनले भने ।
पार्टीभित्र घेराबन्दीमा परे पनि पार्टीलाई विधिसम्मत चलाउने उनले बताए । ‘घेराबन्दीमा परे पनि केही हुन्न । केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन् । तर, केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो,’ उनले भने ।




















प्रतिक्रिया