Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले भने– ‘काेशीमा केदार कार्की हाम्रै गठबन्धनकाे मुख्यमन्त्री हो’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको स्पष्ट पारेका छन् । उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा मुख्यमन्त्री बनेको जिकिर गरे ।

शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘आज बिहान मात्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा समझदारी बनाएका छौं । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट छौं, कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिइने छैन भन्ने सहमति भएको छ’ प्रचण्डले भने, ‘अहिले कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो, त्यसैले यो समस्या जसरी सोचिएको थियो, ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं ।’

कोशीमा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता केदार कार्कीले कांग्रेसका ८ जना र एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र उनलाई शनिबार प्रदेश प्रमुखले काेशीकाे मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई सत्तागठबन्धनका सबै दलको समर्थन रहने र विश्वासको मत दिने बताए । ‘गठबन्धन इन्ट्याक्ट रहन्छ, गठबन्धनकै उम्मेदवारकै रुपमा हाम्रो समर्थन रहन्छ’, उनले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार १३:२८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।