Logo

खेलकुद

विश्वकप छनोट फुटबल : नेपाल र लाओस खेल्दै



काठमाडौं । विश्वकप फुटबलको एसिया छनोटमा नेपालले मंगलबार दोस्रो लेगको खेलमा लाओसविरुद्ध खेल्दैछ ।

वियनतियानेस्थित लाओसको राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । काठमाडौंको दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको ३३ औं मिनेटमा लाओसका कप्तान बौनफाचन बोनकोन्गले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि बराबरी गोल फर्काएका थिए । अन्जनको त्यो गोल नेपाली राष्ट्रिय टोलीका लागि १३ औं गोल रहेको थियो । उनले निराजन रायमाझी र हरि खड्काको राष्ट्रिय टोलीबाट १३ औं गोलको रेकर्डसँग बराबरी गरेका हुन् । उनले आज गोल गर्न सके उनी नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।

नेपाल लाओसलाई स्तब्ध बनाउँदै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । लाओस पनि जित निकाल्ने सोचमा हुनेछ । यो खेलमा जित निकाल्ने टोलीले दोस्रो चरणमा बहराइन र युएई तथा यमन र श्रीलंकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १६:२६   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।