काठमाडौं । नेपालमा जारी आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको आफ्नो दोस्रो खेलमा बहराइनले हङकङलाई १४७ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित १९ दशमलव ३ बलमा सबै विकेटको क्षतिमा १४६ रन बनाएको हो ।
बहराइनका इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो ।
हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३.३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।
हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो । बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो ।




















प्रतिक्रिया