Logo

खेलकुद

बहराइनसँग हार्‍याे हङकङ, सेमिफाइनल यात्रा कठिन



काठमाडाैं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङ बहराइनसँग २० रनले पराजित भएकाे छ । जितको लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अलआउट भयो । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

हङकङका अंशुमन रथले २८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ङकङले सुरुवात निकै खराब रहेको थियो । पहिलो ओभरको चौथो बलमा मजिद अब्बासीको बलमा ओपनर निजाकत खान ४ रनमा बोल्ड आउट भए । मजिद अब्बासीको बलमा उच्च लयमा रहेका मार्टिन कोट्जी २ रनमा क्याच आउट भएका थिए ।

स्पिनर अली दाउदले बाबर हायतलाई ६ रनमा बोल्ड आउट गरेपछि हङकङ १३–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि अंशुमन रथ र एजिज खानले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जावेद अनवारले ल्वो फुलटस बलमा एजिजलाई १९ रनमा एलबीडब्लू आउट गरे ।

नस्रुला राना ६ बलमा १ चौका र २ छक्कासहित १६ रनमा आउट भएका थिए । हङकङलाई २४ बलमा जितको लागि ३७ रन चाहिँएको थियो । सुरुवाती चार बलमा तीन रन बटुलेको थियो ।

पाँचौं बलमा जिशान अली २१ रनमा रन आउट भए । उनले ११ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा रिजवानले यासिम मुर्तजालाई ९ रनमा बोल्ड गरेपछि जितको सम्भावना सकिएको थियो ।

बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अब्दुल मजिदले ३.१ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । अली दाउदले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो । बहराइनको जितमा इमरान अली बटले ४३ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिएका थिए । उनी बाहेक अन्य कुनैपनि बहराइनका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रनमा आउट भए । अन्य दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले २० वाइड र एक लेग वाई गरि २१ रन अतिरिक्त दिएको थियो ।

हङकङका तीव्र गतिका बलर नस्रुला रानाले ३।३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । मोहम्मद अजिज खानले ४ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो । बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ । उता बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ । अन्तिम दिनको नतिजाले सेमिफाइनल निर्धारण गर्नेछ । आजको हारले हङकङको सेमिफाइनल यात्रा कठिन बनेको छ । अन्तिम खेलमा युएईलाई हराउनु पर्नेहुन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १२:५०   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।