काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।
जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे ।
मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।
ओपनर आसिफ शेख र भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
दोस्रो विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ६७ रनको साझेदारी गरेका थिए । आसिफ २३ बलमा १ चौका र २ छक्कासहित ३२ रनमा कट एण्ड बोल्ड आउट भए ।
रोहित पौडेल २ रनमा आउट भए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ र विवेक यादव २ रनमा अविजित रहे । मलेसियाका अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । पवनदीपको नाममा १ विकेट रह्यो ।
नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।




















प्रतिक्रिया