काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले आज (बिहीबार) ओमानसँग खेल्दै छ। खेल आज बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । समूह ‘ए’ मा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए । घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन् ।
कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र सिंह ऐरी नहुँदा यी दुई ब्याटरमा अतिरिक्त जिम्मेवारी थपिएको छ । नेपालका लागि कप्तान रोहित पौडेल लयमा फर्कनु आवश्यक हुनेछ ।
सोमपाल कामी, करण केसी र गुलशन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा गरेको छ । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् । अभिनाश बोहराले नेपालको डेथ ओभर सम्हाल्ने छन् । आज हुने समूह ‘ए’को अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । बिहिवार नै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन् । यो खेलपछि मात्र समूह बी बाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।




















प्रतिक्रिया