Logo

अन्तर्राष्ट्रिय

श्रीलंकाका एन्जेलो म्याथ्युज कसरी परे ‘टाइम आउट’मा ?



काठमाडाैं । श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा टाइमआउट हुने पहिलो खेलाडी बनेका छन् ।

सादिरा समराविक्रमा आउट भएपछि म्याथ्युज श्रीलंकाको स्कोरलाई अगाडि बढाउन क्रिजमा पुगेका थिए । यसअघि श्रीलंकाको स्कोर २४.२ ओभरमा चार विकेट गुमाएर १३५ रन थियो।

एन्जेलो म्याथ्युज आइसीसीको समयसीमाभित्र ब्याटिङ गर्न क्रिजमा पुगेका थिए, तर उनले आफ्नो हेल्मेटको स्ट्र्यापलाई कस्नका लागि तानेपछि त्यो फुट्यो । यसैबीच, तीन मिनेटको समय सीमा बित्यो र बंगलादेशकाे टिमले अम्पायरलाई एन्जेलो म्याथ्युजलाई आउट घोषित गर्न अपील गर्यो।

यसपछि उनले बंगलादेशका कप्तान शकिब अल हसनलाई उनको हेलमेटमा केही समस्या भएको कुरा बुझाउने प्रयास गरे । तर शकिब अल हसनले आफू आफ्नो अपिलमा गम्भीर रहेको बताए ।

यसपछि अम्पायरले उनलाई आउट घोषित गरे र उनी अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो खेलाडी बने । म्याथ्युज मण्डलतर्फ फर्किंदै गर्दा हेल्मेट फालेको देखियो, जसको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आईसीसी नियम अनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:४०   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।