Logo

खेलकुद

मिचेल मार्सको शानदार शतकमा बंगलादेशमाथि अस्ट्रेलियाकाे सहज जित



काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो ।

मिचेल मार्सको शानदार शतकको मद्दतले अस्ट्रेलियाले सहज जित निकालेकाे हाे । मार्सले नटआउट रहँदै १ सय ३२ बलमा १ सय ७७ रन बनाए । उनले यसक्रममा १७ चौका र ९ छक्का हिर्काए । उनलाई पूर्वकप्तान स्टिभ स्मिथले ६३ रन बनाउँदै अन्तिमसम्म साथ दिए । ओपनर डेभिड वार्नरले ५३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ६ रन बनाएको थियो । बंलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ७४ रनको पाली खेले । उनले ७९ बलमा पाँच चौका र २ छक्का हिर्काए ।

यसअघि दुई ओपनरले बंगलादेशलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि तानजिद हसन र लिट्टन दासले ७६ रनको साझेदारी गरे । दुवै खेलाडी समान ३६–३६ रन बनाएर आउट भए ।

कप्तान नजमुल होसेन सान्तोले रन आउट हुनअघि ४५ रनको योगदान दिए । त्यस्तै, मोहम्मदुल्लाहले ३२ रन बनाए भने खेलको अन्त्यतिर मेहदी हसन मिराजले २० बलमा २९ रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबट र एडम जाम्पाले २–२ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । अन्य तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार १८:५५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।