काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेकाे छ । हङकङमा भएको खेलमा टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो । ११४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियाे ।
नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।
बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।
११४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।
बलिङतर्फ नेपालकी संगीता राई एक्लैले ५ विकेट लिइन् । अश्मिना कर्माचार्य र पूजा महतो दुई/दुई विकेट लिए ।
नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो ।
अब तान्जानिया र हङकङबीच उपाधि भिडन्त हुनेछ ।




















प्रतिक्रिया