Logo

अर्थ

अर्थमन्त्री डा. महतकाे दाबी– ‘अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा गइरहेको छ’



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा जग्गा र सेयरमा धेरै ऋण प्रवाह हुँदा समस्या देखिएकाे अर्थतन्त्र अहिले विस्तारै सकारात्मक दिशामा गइरहेको बताएका छन् । मध्यपुर थिमि नगरपालिकाले शंखधर साख्वा दिवसकाे अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले हिजोका दिनमा जग्गा र सेयरमा बढी ऋण प्रवाह भएकाले त्यसबाट प्रतिफल नआउँदा अर्थतन्त्रमा समस्या आएको उल्लेख गरे ।

‘हिजोको दिनमा धेरै ऋण प्रवाह गरियो, धेरै मानिसले जग्गा र सेयरमा लगानी गरे । यसैको प्रतिफल हो, हातमा नगद छैन, ऋण तिर्न धौधौ परेको छ’ मन्त्री डा. महतले भने, ‘जसले धेरै ऋण लिएका थिए, ऊ नै किन तिर्ने ऋण भन्दै हिडिरहेका छन् । दुरुपयोग गर्नेको कुरा छाडौं, तर कोही गर्दागर्दै पनि साँच्चिकै समस्यामा परेका छन् । जो काम गर्न खोज्दाखोज्दै विविध परिस्थितिले अप्ठ्यारोमा परे त्यसलाई राज्यले हेर्नेछ । ऋण लिने, दस ठाउँमा लगानी गर्ने र खाने तर तिर्दिन भन्न चाहिँ पाइँदैन ।’

मन्त्री डा. महतले सन्त नेता कृष्णप्रसाद भट्टराईले आफ्नो प्रधानमन्त्रित्व कालमा नेपाल सम्बतलाई मध्यनजर राखेर शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको बताए। कार्यक्रममा उनले भने, ‘समाजलाई देश बुझाउँनुपर्छ, बुझाउने क्रमसँगसँगै पहिचान स्थापित हुन्छ । देशमा ०४६ सालको परिवर्तनपछि बोल्ने, राजनीतिक दल रोज्ने, आफ्नो पेशा व्यवसाय रोज्ने र आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने स्वतन्त्रता सुनिश्चित भयो ।’ त्यसभन्दा अगाडि नेपाली नागरिक रैतीजस्ता भएको मन्त्री डा. महतले  बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार २०:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।