काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।
मंगलबार नेप्से परिसूचक २.१७ अंक घटेर १८९४.५३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७५ भन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन १ अर्ब २८ करोड २ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन २९० कम्पनीको ४७ हजार ३३३ वटा कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, फाइनान्स, लगानी, म्युचुअल फण्ड र हाइड्रोपावर उपसमूहको परिसूचक बढेको हो।
यस दिन अप्पर साङ्गेबुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर ३९२.८० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, यस दिन मन्दाकिनी हाइड्रोपावर र तारागाउँ रेजेन्सी होटलको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.३३ प्रतिशत घटेको छ। त्यस्तै, मिड सोलु हाइड्रोपावर, विजय लघुवित्त, आरम्भ चौतारी लघुवित्त, कालिका पावर कम्पनी लगायत कम्पनीको सेयर मूल्यमा पनि सर्वाधिक गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।




















प्रतिक्रिया