Logo

अन्तर्वार्ता

पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्ड हो, पर्यटकमैत्री काम गरिरहेका छौं : मणि राज लामिछाने



नेपालमा पछिल्लो समय पर्यटकको आवागमन बढ्दै गएको छ। कोरोना महामारीले अस्तव्यस्त बनेको पर्यटन व्यवसाय पर्यटकको आवागमनसँगै चलायमान हुन थालेको हो। सरकारले २०२० लाई पर्यटन वर्ष मनाउने भनिरहँदा विश्व नै कोरोना महामारीले आक्रान्त बन्यो। त्यसपछिको रुस र युक्रेन युद्धका बाछिटाको प्रभावले पनि विश्व अर्थतन्त्रमा असर गर्यो। यी र यस्ता विभिन्न कारणले मुलुकको अर्थतन्त्र चलायमान हुन सकिरहेको थिएन। पर्यटक आवागमनको संख्या पनि घट्दो थियो। तर, विस्तारै अर्थतन्त्रले लय समात्दै छ। पूर्णरूपमा गतिशील भने बनिसकेको छैन। अब पर्यटक आवागमन पुर्णरूपमा कहिले गतिशील होला? यीनै विषयमा केन्द्रित रहेर अनलाइन पानाका लागि तेज किरातीले नेपाल पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन महाशाखाका निर्देशक मणि राज लामिछानेसँग संवाद गरेका छन्।

नेपालमा पछिल्लो समय पर्यटनको अवस्था कस्तो छ?

कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै पर्यटन व्यवसाय पनि चलाएमान हुन सकेन। नेपाल सरकाले २०२० लाई पर्यटन वर्षका रूपमा घोषणा गरेको थियो। लगानी पर्यटनमा बढ्दै थियो। नयाँ-नयाँ मेनपावर पर्यटनमा जोडिँदै आइरहेका थिए। कोरोना महामारीले सबै क्षेत्र प्रभावित हुँदा त्यसको नराम्रो प्रभाव पर्यटन व्यवसायमा पनि देखियो। अरु क्षेत्र राम्रो हुँदा पर्यटन क्षेत्र पनि असाध्यै राम्रो हुने गर्छ। अन्यत्र गडबड हुँदा यसको असर पर्यटन व्यवसायमा देखिन्छ र यो धरासायी हुन्छ। २०२३ को आगमन पश्चात विस्तार हामी पर्यटन आगमनको लयमा फर्काउने प्रयासमा छौं। नेपाल सरकारले २०२३ मा कम्तिमा १० लाख पर्यटक भित्र्याउने भनेर लक्ष्य राखेको छ। त्यो लक्ष्यमा हामी करिव करिव पुग्न थालिसकेका छौं। नोभेम्बर अन्तिमसम्मको तथ्याङ्क हेर्दा ९ लाख १८ हजार भन्दा बढी पर्यटक नेपालमा आइसकेका छन्। डिसेम्बरमा एक लाखदेखि एक लाख १० हजारसम्म बढ्ने विगतको ट्रेन हो। यस वर्ष सरकारी लक्ष्य पुरा हुन्छ।

२०१९ मा दुई लाख ६० हजारको हाराहारीमा भारतीय पर्यटक आएका थिए। अहिले दुई लाख ७७ हजार भन्दा बढी भारतीय पर्यटक आइसकेका छन्। अमेरिकन पर्यटक पनि २०१९ मा ९५ हजार दुई सय हाराहारीमा आएकोमा ९३ हजार तीन सय भन्दा बढी आइसकेका छन्।यो दुई वटा बजार २०१९ भन्दा माथी छ। चाइना अलिपछि खुलेकाले अलि कम आएको देखिन्छ। २०१९ मा एक लाख ७० हजार हाराहारी चिनीया पर्यटक आएकोमा अहिले ५४ हजार आइसकेका छन्। भारत, बंगलादेश, मलेशीया, सिंगापुरहरूमा बजारिकरणलाई केन्द्रित गरेका थियौं। बंगलादेशी बजार एकदम माथि आइरहेको देखिन्छ। बंगलादेशबाट नेपाल आउने पर्यटक २०१९ को तुलनामा ३० प्रतिशतले बढ्ने सम्भावना छ। समग्र हेर्दा पर्यटन व्यवसाय लयमा आइरहेको छ। २०१९ को तुलनामा ८५ देखि ९० प्रतिशत हाम्रो बजार लयमा आउने देखिन्छ।

के पर्यटनको यो आवागमन सन्तोषप्रद हो?

विश्व पर्यटन संगठनले साउथ एसिएन बजार हेर्यो भने ६० देखि ७० प्रतिशत बजार कभ्रेज हुने भनेको छ। हामी ८५ देखि ९० को बीचमा देखिन्छौं भने यसलाई सन्तुष्टिकै रूपमा लिनुपर्छ। यसलाई दुवै वा माल्दिप्ससँग दाज्दाखेरि माल्दिप्स ११० प्रतिशत कभ्रेज भइसकेको छ। ओभरल साउद एसियामा हाम्रो अवस्था राम्रो छ।

पर्यटन प्रवर्द्धनका लागि तपाईंहरूका आगामी योजना के छन्?

पछिल्लो समय कोरोना महामारीको समयमा वान स्टोप डेस्टिनेसनलाई हामीले बढी फोकस गरेका थियौं। हाम्रा नजिकका राष्ट्र भारत, चीन र बंगलादेशमा हामीले बढी फोकस गरेका थियौं। आगामी दिनमा पनि हाम्रो यी तीन बजारमा अलिबढी फोकस हुन्छ। भारत र नेपालबीचमा फ्लाइट संख्या पनि बढी छ। कतिपय अवस्थामा भिसा पनि नलाग्ने भएकाले सहज छ। साउथ एसियामा बंगलादेश ग्रोइङ इकोनोमी हो। बंगलादेशबाट पनि खर्च गर्न सक्ने खालका पर्यटकहरूलाई ल्याउन सकिन्छ। चीनको बजार पनि खुलेको र विश्वका घुम्न पर्ने ४० देखको सूचीमा नेपाललाई पनि राखेकाले पछिल्लो दिनमा चाइनिज एम्बेसीसँग मिलेर विभिन्न सांस्कृतिक आदान प्रदानका कार्यक्रम लागू गरिरहेका छौं। चाइनिजहरूको खेलकुदतर्फ अलि बढी लगाव भए जस्तो देखिन्छ। पछिल्लो दिनमा चीनबाट नेपाल जोडिने पर्यटकको संख्या पनि बढ्दै गएको छ। त्यसबाहेक अन्यत्र एक फ्लाइटमा पुग्न सकिने गन्तव्यहरू सिंगापुर, मलेसिया, हंकङ, थाइल्याण्ड लगायतका देशहरूमा हाम्रो बजारिकरण केन्द्रित छ।

विग्रदो अर्थतन्त्र उकास्न पर्यटन व्यवसायले कसरी टेवा पुर्‍याउँछ?

केही समय पहिले कतिपय वस्तुको आयात बन्द गरिएको थियो। त्यो विदेशी मुन्द्रा नभएर भन्ने थियो। पछिल्लो समय पर्यटनको चहलपहल बढ्न थालिसकेपछि आयात निर्यात खुलेको छ। पर्यटन आवागमनले विदेशी मुन्द्राको भण्डारण बढाउने काम गर्छ। यसले बजारमा विदेशी मुन्द्रा सञ्चितिलाई बढाउँदै अर्थतन्त्र चलायमान बनाउन टेवा पुर्‍याउने काम गर्छ। एक जना पर्यटक आउँदा ११/१२ जनाले रोजगारीको अवसर पाउँछन्। पर्यटन व्यवसायको प्रभाव फराकिलो हुन्छ। एउटा पर्यटन आउँदा आलु व्यापारिदेखि हवाइ कम्पनीसम्म लाभान्वित हुन्छन्। पर्यटकले गर्ने खर्च विभिन्न ठाउँमा छरिने भएकाले अर्थतन्त्र चलाएमान बनाउन सहयोग पुर्‍याउँछ।

अब पर्यटन व्यवसाय कहिलेबाट उकालो लाग्ला?

नेपाल सबै समयमा घुम्न मिल्ने उपयुक्त गन्तव्य हो। यसका लागि विभिन्न समयमा हामीले पर्यटक लक्षित विभिन्न गतिविधि पनि गर्नुपर्छ। हामीले यसो भनिरहँदा घुम्ने विषय रुचीका कुरा पनि भए। नेपालमा सेप्टेम्बर, अक्टुवर र नोभेम्बरमा बढी पर्यटक घुम्न आउँछन्। अर्को समय भनेको मार्च, अप्रिल र मे हो। हामीले मौसम हेरेर पनि पर्यटक लक्षित कार्यक्रम गरिरहेका हुन्छौं। गर्मी मौसममा हामीले गर्मीसे बेहाल चलो नेपाल भनेर अभियान चलाइरहेका हुन्छौं। जाडो मौसममा हामीले विभिन्न इभेन्ट गरिरहेका हुन्छौं। जस्तो चितवनमा हात्ति महोत्सव, पोखरामा इस्टेट फेस्टिबल जस्ता गतिविधि गरिरहेका हुन्छौं। नेपालमा केहि न केहि हुँदो रहेछ भनेर पर्यटक आइरहेका हुन्छन्। होटल व्यवायीले पनि यस्तो बेलामा स्पेसल डिस्काउन्ट दिनुपर्छ। यसरी बाह्रै महिना चलायमान हुने गरी हामीले पर्यटकलाई आकर्षित गरिरहेका हुन्छौं।

अब पर्यटनका माध्यमबाट अर्थन्त्र सुध्रिन टेवा पुग्ला?

हामी सरकारी लक्ष्य हासिल गर्ने नै छौं। २०२४ मा हामी २०१९ को लक्ष्य नाघ्ने नै छौं। २०२४ मा २०/२५ प्रतिशतले पर्यटक बढाउने हाम्रो लक्ष्य छ। पोखरा र भैरवा विमानस्थलका कारण पनि पर्यटकको संख्या बढ्ने विश्वास लिएका छौं। युक्रेन-रसिया युद्धका कारण पनि पर्यटक आवागमनमा कमी आएको छ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार ०८:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।