Logo

खेलकुद

तीन ब्याट्सम्यानको अर्धशतकमा सुदूरपश्चिमले कर्णालीलाई दियाे २७८ रनको लक्ष्य



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउन २ सय ७८ रनकाे लक्ष्य दिएकाे छ ।

सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।

सुदूरपश्चिम प्रदेशका लागि दुबै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए ।

खडकले ८० रन बनाए । उनले एक सय १४ बलको सामना गरी ६ चौका बनाए । टेकले पनि टोलीको खातामा ५९ रन थपे । उनले ९१ बलमा सात चौका पनि प्रहार गरेका थिए ।

यसैगरी सुदूरपश्चिम प्रदेशका लागि अर्का ब्याट्सम्यान किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए ।

नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान नारायणले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका हाने ।

चौथो नम्बरका ब्याट्सम्यान राजु रिजालले पनि १९ रन बनाए । कप्तानसमेत रहेका राजुले ३२ बलमा एक चौका पनि हाने । नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे ।

सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलवार १३:२०   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।