Logo

प्रमुख समाचार

महिनावारीमा स्वास्थ्यको ख्याल कसरी गर्ने र के खाने?



महिनावारी महिलामा हुने प्राकृतिक र नियमित प्रक्रिया हो। सामान्यतया किशोरावस्थामा पुगेपछि सुरु हुने महिनावारी चक्र ५५ वर्षको उमेरपछि बन्द हुन्छ। महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ। एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कुनै महिलामा लामो पनि हुन सक्छ। कुनै महिलामा यो चक्र छोटो पनि हुने गर्छ। महिनावारी २१ दिन वा ३५ दिनमा पनि हुन सक्छ। यसरी महिनावारी केही दिनको तलमाथि हुने चक्रलाई सामान्य नै मान्न सकिन्छ। तर, लामो समयको ग्याप वा छिटो-छिटो महिनावारी हुने समस्या छ भने त्यसलाई सामान्य रूपमा लिनु हुँदैन।

महिनावारी हुँदा शारीरिक सरसफाइमा विशेष ध्यान दिनुपर्छ। महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्नु हुँदैन। यसले गुप्ताङ्गमा सङ्क्रमणको समस्या बढाउँछ। गुप्ताङ्गमा भएको सङ्क्रमणले पछि गएर शरीरको प्रजनन अङ्गमा पनि सङ्क्रमण हुने सम्भावना हुन्छ। त्यसै सकेसम्म प्याडको प्रयोग गर्नुपर्छ। प्याडका रूपमा कपडा नै प्रयोग गर्नुपर्ने अवस्थामा कपडा धोएर राम्रोसँग घाममा सुकाइएको हुनुपर्छ।

महिनावारीमा दुखाई किन?

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्ने समस्या प्रायमा हुन्छ। यो समस्या सामान्य नै मानिन्छ। महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्छ। यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरभित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ। यस प्रक्रियाका कारण तल्लो पेट र ढाड दुख्ने गर्छ। यदि पाठेघरले निश्चित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह बिस्तारै रगतका रूपमा योनीमार्ग हुँदै बाहिर निस्कन्छ। यस अवस्थामा पाठेघर खुम्चिने र फुल्ने हुँदा यस्तो प्रकारको दुखाइ हुने हो।

यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डिफोर आउने जस्ता लक्षणहरू देखा पर्छन्।

महिनावारीको समयमा, मुड स्विङ्स, हर्मोनल परिवर्तन, सामाजिक वर्जित, भावनात्मक र शारीरिक चुनौतीहरू तथा सरसफाइलगायत विभिन्न कारणले महिलाहरू चिन्तित रहने गर्छन्। जसले केही महिलाहरूको लागि तनाव र चिन्ता बढाउँछ। त्यसैले यो बेला महिलाहरूलाई साथीहरू, परिवार र सहकर्मीहरूबाट भावनात्मक साथ सहयोगको आवश्यकता पर्छ।

कस्ता खाना खाने?

पोषक तत्त्वले भरिपूर्ण खाजा र खानाले महिनावारीको समयमा समग्र स्वास्थ्यमा लाभदायक हुन्छ। हाइड्रेशन हाइड्रेटेड रहनु महत्त्वपूर्ण छ, किनकि यसले ब्लडिङ कम गर्न र सामान्य स्वास्थ्य कायम राख्न मद्दत गर्छ। पानी वा अन्य हाइड्रेटिंग पेय पदार्थहरूको सेवन गर्नु उपयुक्त हुन्छ।

२. आइरन युक्त खानेकुराहरू खानु लाभदायक हुन्छ। पालक, दूध, मासु र सिमी जस्ता खानाहरू खानु उपयुक्त हुन्छ।

३. फलफूल र तरकारीहरूको सेवन गर्नुपर्छ। आवश्यक भिटामिन र खनिजहरू खानुपर्छ। केरा र गाढा पत्तेदार सागहरू खानु उपयुक्त मानिन्छ।

४. शरीरमा फाइबरको लागि खैरो चामल, गहुँको रोटी र ओट्स खानु लाभदायक हुन्छ।

५. ओमेगा-३ फ्याटी एसिड माछा, फ्ल्याक्ससीड र ओखरमा पाइन्छ, यसले सुजन कम गर्न तथा महिनावारीको समयमा हुने समस्यालाई कम गर्न सहयोग गर्छ।

६. हाइड्रेटिंग फूड्सको सेवन गर्नुपर्छ। तरबूज र काँक्रो जस्ता पानी युक्त फलफूलले हाइड्रेसनमा मद्दत गर्छ। त्यस्ता फलफूल खानु उपयुक्त हुन्छ।

७. महिनावारीमा डार्क चकलेट खानु उपयुक्त हुन्छ। यसले मुड सुधार्न मद्दत गर्छ।

८. हर्बल चिया पनि स्वास्थ्यका लागि राम्रो हो। क्यामोमाइल वा अदुवा चिया आरामदायी हुन सक्छ। यसले दुखाइ कम गर्न सहयोग गर्छ।

(भ्याली अस्पताल, पुतलीसडककी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजाता महर्जनसँग भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ०९:११   :  बजे

513
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।