काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि २ सय ७४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि २ सय ७३ रन बनाएको हो ।
बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले शतकीय पाली खेले । उनले १ सय ११ बलमा १ सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । आशुतोषले ९९ बलमा शतक पूरा गरे ।
आशुतोषले टोलीको स्कोर २८ रन रहँदा ओपनर इशान पाण्डेको साथ गुमाएका थिए । इशान ६ रन जोड्दै क्याच आउट भएका थिए ।
यी दुईले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे । रित ६० बलमा ३ चौकासहित ४९ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
३३औं ओभरमा हेमन्त राईको बलमा आशुतोष कमल खत्रीको हातबाट क्याच आउट भएका थिए । कोशीविरुद्ध ४७ बलमा अर्धशतक पूरा गरेका आशुतोषलाई सुजन थपलियाले ४१ रनमा ड्रप गरेका थिए । टियु मैदानमै कोशीका लागि शतक बनाएका सुजनले स्लिपमा क्याच छोडेर जीवनदान दिएपछि आशुतोषले लगातार आक्रमण गरे ।
कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ तथा फिर्दोश अन्सारीले १ विकेट लिए ।




















प्रतिक्रिया