Logo

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले मधेशलाई ६ विकेटले हरायो



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रन मात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने १८.३ ओभरमै केवल चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा १९ रन थपे । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद सात रनमा आउट भए । दिलीप नाथले चार रन बनाए । अमित श्रेष्ठ १५ र आरिफ शेखले १६ रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो । मधेश प्रदेशका बलर रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । मधेश प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गरी चार चौका पनि हिर्काए ।

छैटौँ नम्बरका ब्याट्सम्यान अरनिको यादवले पनि २३ रन बनाए । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान अभिषेक तिवारीले अविजित ११ रन जोडे । उनले १९ बलमा एक छक्का प्रहार गरे ।

मयान यादव पनि पाँच रनमै पेभेलियन फर्किए । अनुभवी पवन सर्राफ पनि ६ रनको व्यक्तिगत स्कोरमै आउट भए । नीरज यादवले चार रन मात्र बटुल्न सके । प्रदिप पासवान एक र रुपेश सिंह पाँच रनमा पेभेलियन फर्किए ।

मधेश प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो । पुलिस क्लबका बलर सागर ढकाल एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । ललित राजवंशीले पनि चार विकेट हात पारे । उनले पाँच ओभरमा दुई मेडन राख्दै केवल १२ रन खर्चिए । राशिद खानले पनि एक विकेट लिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १३:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।