बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।
सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए ।
गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । अन्य तर्फ माओवादी केन्द्रका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।
जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए । भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् ।
लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।
प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।




















प्रतिक्रिया