Logo

खेलकुद

यू-१९ विश्वकपको अघिल्लो चरण प्रवेश गर्न अफगानिस्तानलाई नेपालले हराउनै पर्ने दबाब



काठमाडौं– आइसिसी यू-१९ विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा नेपालमाथि अफगानिस्तानलाई हराउनै पर्ने दबाब रहेको छ । आज दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदान सुरु हुने खेल नेपालले जित्नै पर्ने दवाव छ।

दुई खेलमा लगातार पराजित नेपालका लागि समूह चरणको तेस्रो खेल चुनौतीपूर्ण बनेको हो। उता अफगानिस्तानसमेत अघिल्लो चरणमा प्रवेशका लागि नेपाललाई हराउनुपर्ने दबाबमा छ । समूह चरणकै खेल भए पनि नेपाल र अफगानिस्तानबिचको आजको खेल नकआउट समान छ ।

यू–१९ विश्वकपको समूह ‘डी’ मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भयो।

समूह ‘डी’मा लगातार दुई जित निकालेको पाकिस्तान र न्युजिल्यान्ड चार चार अङ्क जोड्दै सुपर सिक्समा पुगिसकेका छन् । नेपाल र अफगानिस्तान अङ्कविहीन छ । आजको खेल जुन टिमले जिते पनि अघिल्लो चरण प्रवेश गर्नेछ ।

दक्षिण अफ्रिकामा सुरु भएको १५ औँ संस्करणको यू–१९ विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन्। १६ देशलाई चार समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन्। यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन्।

समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्। अर्को चरणमा पुग्ने १२ देशलाई दुई समूहमा विभाजन गरेर सुपर सिक्सका खेल हुने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ। अन्त्यमा दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक जितेको छ। पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक(एक पटक उपाधि जितेका छन्।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार ०६:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।